Late Rakesh Kafley
सन १९८१मा भूटानको चिराङमा जन्मिएका राकेश काफ्लेले जीवनका उत्तमदेखि सङ्कटपूर्ण स्थितिहरूको डटेर सामना गरेका पाइन्छ । सेनाको उपल्लो दर्जाका हाकिम गोपाल र चन्द्रा काफ्लेका पहिलो छोरो र दोस्रो सन्तान भएकाले पारिवारिका चालचलन र रहनसहनले नै राकेशमा केही राजशी प्रवृत्तिहरू बीजारोपण गरेको पाइन्छ । मिहिनेत, कला, साधना, र हठ उनका गहकिला र वजनदार आचरणहरू हुन । विद्यार्थी, अभिनेता, शिक्षक, देखि कला, गला, र साहित्यमा समान्तर र लगातार चमक, गमक, र धमक वर्षाउन सक्ने उनले आखिरी पहिचान भने गीतसङ्गीत, साहित्य र सञ्चारलाई बनाएर गए । कृतिशेष हुँदाहुँदै पनि गीतसङ्गितका उनका दस्ता र तीनका ऐतिहासिकताहरू जङ्गेपिलर जस्तै स्थिर र सालिन् पाइन्छन् । यस एलबममा तपाईंले सुन्ने गीतहरूले कृतिशेष राकेश काफ्लेका पहिचान र मौलिकताहरूलाई जाजल्यमान, सादृश्य, र सशक्त विस्तार गरेका छन् । एक भाइ, एक दिदी, दुई बहिनी, श्रीमती र दुई सन्तानका पिता उनले परिवारलाई जिन्दगीभरि विश्वास गर्न नसकिने सत्य यद्यपि नेपाली सङ्गीत, सञ्चार, र साहित्यका एक व्यक्ति र त्रिवेणी व्यक्तित्वको रहरलाग्दो वर्तमान बाँचेर सुटुक्क विदा लिए । तलामाथि बुइगल, बेस्मेन्टको सोफा, मञ्चको पछाडि, माइक्रोफोन अगाडि, कुनै सडकमा वा खेलमैदानमा उनी कतै बसिरहेका वा हिँडिरहेका पक्का पनि छन् जस्तो लागिरहन्छ । उनका गीत नबजेको कार्यक्रम र उनलाई नसम्झेको कुनै कार्यक्रम विरलै होला । वृद्धवृद्धा, दौँतरी, र बालबालिकाहरूमा समान घुलमिल भाइ बराबरी अमिट छाप छाड्ने उनको शैली त्यसमा पनि अपनत्व र कुटनीतिको फराकिलो धरातल निर्माण गर्ने उनको हेक्का, कला, र दक्षता जसकसैमा पनि निकै दुर्लभ हुन्छ । उनी बेजोड वैचारिक, निडर, हाँकी, र नेतृत्वदायी प्रवृत्तिका थिए । उनले मञ्च, माइक, र कलमले हर्दम विकृतिको पर्दाफास गरे, प्रगतिको सङ्खनाद गरे, र उन्मुक्तिका नाराहरूमा इन्क्लाब गुथेर विद्रोह गर्दै गर्दै आखिर पलसम्म दुबै हातमा प्रगतिका लगाम रन्काएर, चेतना सल्काएर, र समाज झकझकाएर आफूले स्वविश्राम चयन गरे । उनका गीतहरूले जाग्न, स्वतन्त्र बाँच्न, र सार्थकता उभिन हर्दम अभिप्रेरित गरिरहेको पाइन । सामान्यदेखि जटिल, सरलदेखि क्लिष्ट, र दुखान्त देखि सुखान्त कथ्यहरूमा धाराप्रवाह सोच्ने, लेख्ने, र बोल्ने उनले चयन गरेका हरेक विषयलाई उत्तिकै न्याय गरेका पाइन्छ । उनले अन्तिम पटक भनेका थिए, "म कुपात्रमा अमृत भएँ र सकिएँ । अब विदा माग्दै छु सदासदाका निम्ति र भूटानमा जन्मिन्छु फेरि ।"